काठमाडौं । काठमाडौं र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–३ स्थित सडकमा मंगलबार बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको हो। बा.५ ख ३६७१ नम्बरको बसले बा.५३ प २४८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बूढानीलकण्ठ नगरपालिका–१३ का २२ वर्षीय समिर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको थियो। स्कुटरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

यस्तै, पाँचथरको फिदिम नगरपालिका–१२ स्थित मिलन चोकमा सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालकको मृत्यु भएको छ।

मे.१ त ५९३२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका–११ अमरपुरका पवन मोतेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अर्का एक जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।

दुर्घटनापछि ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय