
विराटनगर । मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी बलका सहायक हवल्दारको मृत्यु भएको छ।
सोमबार साँझ बूढीगंगा गाउँपालिका–४ मा वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि चिकित्सकले साँझ ६ः५२ बजे मृत घोषणा गरेका थिए।
मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णकट्टी, सप्तरीमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




