सुरक्षा सरोकार/ काठमाडौं — नेपाल प्रहरीमा एआईजी बढुवा सिफारिस भएसँगै अब डीआईजी दर्जामा बढुवाको प्रतिस्पर्धा चर्किएको छ। हाल डीआईजी तहमा १० स्थान रिक्त छन्, जसका लागि ११२ टोलीका १५ जना वरिष्ठ प्रहरी अधिकृतहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

११२ टोलीका प्रहरी अधिकारीहरू २०५६ साल असार ३ गते निरीक्षक पदमा नियुक्त भएका थिए। प्रारम्भिक सेवाकालमा एउटै ब्याचका रूपमा अघि बढेका यी अधिकृतहरू विभिन्न चरण पार गर्दै एसपी र एसएसपीमा बढुवा भए। हाल उनीहरू डीआईजी दर्जाको दौडमा छन्।

हालै सम्पन्न एआईजी बढुवामा अघिल्लो बढुवा वरियताकै आधारमा सिफारिस गरिएको थियो। यही अभ्यास दोहोरिएमा ११२ टोलीकै पहिलो लटबाट एसएसपीमा बढुवा भएका अधिकृतहरू डीआईजीमा अटाउने सम्भावना प्रबल देखिन्छ।

एसएसपीबाट डीआईजीका लागि प्रतिस्पर्धीहरू

राष्ट्रिय अनुसन्धान विभाग (राअ) बाट नेपाल प्रहरीमा आएका माधवप्रसाद श्रेष्ठ (बुटवल तालिम केन्द्र), अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, र विमल बस्नेत प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्।

त्यस्तै, २०५४ चैत १८ मा भर्ना भएका १११ टोलीका विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला र दीपक रेग्मी पनि बढुवाका योग्य उम्मेदवारका रूपमा रहेका छन्।

२०८० वैशाख २४ को बढुवामा वरिष्ठता अनुसार शीर्ष स्थानमा रहेका १५ जना एसएसपीहरू यस प्रकार छन्:

१. विश्व अधिकारी

२. भूपेन्द्रबहादुर खत्री

३. सानुराम भट्टराई

४. ओमप्रसाद अधिकारी

५. शेखर खनाल

६. अभिनारायण काफ्ले

७. सोमेन्द्रसिंह राठौर

८. मुकुन्द मरासिनी

९. दीपसमशेर जबरा

१०. गोपालचन्द्र भट्टराई

११. प्रवीण पोखरेल

१२. गंगा पन्त

१३. कृष्णबहादुर पल्ली मगर

१४. तारादेवी थापा

१५. प्रज्वल महर्जन

हाल काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख विश्व अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डका प्रमुख सोमेन्द्रसिंह राठौर डीआईजी बढुवाका लागि अग्रपंक्तिमा छन्। अधिकारी २०५५ कात्तिक १ मा भर्ना भएका हुन् भने अन्य अधिकांश २०५६ असार ३ का भर्ना मितिका हुन्।

यस्तै, एसएसपी बढुवाको दोस्रो सूचीबाट २०८० कात्तिक २४ मा बढुवा भएका वसन्त रजौरे पनि एक सक्षम अफिसरका रूपमा डीआईजी बढुवाको प्रयासमा छन्। उनको नाम पनि सम्भावित सूचीकृतमा उल्लेख गर्न सकिन्छ।

शक्तिकेन्द्रको प्रभाव र सम्भाव्य विवाद—

बढुवा प्रक्रियामा पछिल्लो समय राजनीतिक हस्तक्षेप, ब्याच लाइन मिच्ने प्रयास, र शक्ति सन्तुलनको समीकरण मिलाउने चलखेल बढ्दो देखिएको छ। तर प्रहरी प्रमुख आईजीपी दीपक थापा भने अघिल्लो वरियताकै आधारमा निष्पक्ष र पारदर्शी रूपमा बढुवा गर्नुपर्ने पक्षमा अडिग छन्।

त्यसैबीच, ११४ टोलीका केही अधिकृतहरूलाई डीआईजी लाइनमा ल्याउने प्रस्ताव पनि चर्चामा आएको छ। २०५८ साउन १८ मा नियुक्त भएका रमेश थापा, अजय केसी, र अनुपमसमशेर जबरा जस्ता अधिकृतहरू हाल एसएसपीमा पछाडि परेका कारण डीआईजी बढुवामा उनीहरूको सम्भावना तत्कालीन अवस्थामा न्यून देखिन्छ।

वर्तमान अवस्थाले हेर्दा ११२ टोलीभित्रकै २०८० वैशाख २४ मा एसएसपी भएका अधिकृतहरूबाट डीआईजी छनोट हुने संकेत प्रस्ट देखिन्छ। तर अन्तिम चरणमा राजनीतिक चलखेल, आन्तरिक समीकरण र शक्ति संघर्षका कारण समीकरण फेरिन सक्ने सम्भावना भने कायम नै छ।

अबको प्रश्न यो हो— के यो बढुवा प्रक्रिया निष्पक्षता र पारदर्शिताको उदाहरण बन्नेछ, वा विवाद र असन्तोषको नयाँ अध्याय लेख्नेछ? यसको उत्तर निकट भविष्यमै प्रस्ट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय