बुटवल । प्यूठानमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशको २०८३ साल असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले न्यौपानेले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा अभिवृद्धि तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय कार्य गरेको भन्दै उनलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो।

न्यौपानेले प्यूठान जिल्लाका बढी दुर्घटना हुने स्थान (ब्ल्याक स्पट) मा रहेका नौवटा क्र्यास ब्यारियरमा रिफ्लेक्टर स्टिकर टाँस गरेका छन्। विद्युतीय सवारीसाधनमा हुन सक्ने आगलागीको जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेका छन्।

त्यस्तै, जिल्लामा सञ्चालन हुने १०७ वटा सार्वजनिक सवारीसाधनको मेकानिकल जाँच, ७५ जना चालकको स्वास्थ्य परीक्षण तथा ३७ जना चालकको लागुपदार्थ सेवन (लापसे) जाँच गरिएको छ। लापसे गरी सवारी चलाएको पाइएका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय प्यूठान पठाइएको कार्यालयले जनाएको छ।

लामो समयदेखि अनुशासित रूपमा सवारी सञ्चालन गर्दै ट्राफिक नियम पूर्ण रूपमा पालना गर्ने सार्वजनिक सवारी चालकलाई सम्मान गरेर जिम्मेवार चालक संस्कृतिको विकासमा समेत न्यौपानेले पहल गरेका छन्।

यसैगरी, ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी आवश्यक कम्प्युटर तथा प्रिन्टरको व्यवस्थापन, रेडियो झुलेनीमार्फत एक सातासम्म ट्राफिक सचेतनामूलक सन्देश प्रसारण तथा चाडपर्वका समयमा यात्रुको सहज र सुरक्षित यात्राका लागि जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो।

चालक तथा यात्रुलक्षित सचेतनामूलक कार्यक्रम, प्रहरी परिचालन र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापनसँगै सरोकारवाला निकायसँगको समन्वयमार्फत जिल्लाको ट्राफिक व्यवस्थापन सुधारमा योगदान पुर्‍याएको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले २०८३ असोज २८ गते जारी गरेको सम्मानपत्रमा न्यौपानेको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई ‘असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय