
काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) दिपक श्रेष्ठ लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले श्रेष्ठलाई पेशागत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै अपराध अनुसन्धान, नियन्त्रण र नवप्रवर्तनात्मक कार्यक्रममार्फत प्रहरी संगठनको गरिमा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उत्कृष्ट प्रहरी छनोट गरेको हो।

संगठनको नीति तथा निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी र पदीय दायित्व पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्ने क्रममा मातहतका प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि गर्न उनले खेलेको भूमिकाको समेत कदर गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउँदै प्रहरी संगठनप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्न पुर्याएको योगदानका आधारमा श्रेष्ठलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गरिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले २०८३ कात्तिक १ गते जारी गरेको सम्मानपत्रमा श्रेष्ठको कार्यसम्पादन र योगदानको प्रशंसा गरिएको छ।
महिनाको उत्कृष्ट प्रहरी छनोटले प्रहरी कर्मचारीलाई थप जिम्मेवार, व्यावसायिक र परिणाममुखी भएर काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।





