
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक छत्रबहादुर रावत ‘उत्कृष्ट प्रहरी कार्य–विपद् व्यवस्थापन’ पुरस्कारबाट सम्मानित भएका छन्।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।

राष्ट्र र नागरिकको सेवामा समर्पित नेपाल प्रहरीको मूल आदर्श ‘सत्य सेवा सुरक्षणम्’ लाई आत्मसात गर्दै मुलुकमा आइपर्ने विभिन्न विपद्का सङ्कटपूर्ण क्षणमा नागरिकको जीउधनको सुरक्षा तथा उद्धार कार्यमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गरेको भन्दै प्रहरी निरीक्षक रावतलाई सम्मान गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
विपद्का बेला जोखिमपूर्ण परिस्थितिमा नागरिकको उद्धार, सुरक्षा तथा विपद् व्यवस्थापनमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २०८३ असोज ३० गते प्रदान गरेको सम्मानपत्रमा रावतले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदर्शन गरेको उदाहरणीय कार्यको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ। साथै, आगामी दिनमा पनि राष्ट्र सेवाको जिम्मेवारीमा थप प्रतिबद्ध भई कर्तव्यपथमा अविचलित रूपमा लागिरहने विश्वास व्यक्त गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।
प्रहरी निरीक्षक रावतको सम्मानले विपद् व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीको व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा र नागरिकको जीवनरक्षाप्रतिको प्रतिबद्धताको महत्त्वलाई थप उजागर गरेको छ।
७१औँ प्रहरी दिवसका अवसरमा प्रदान गरिएको यो सम्मानले विपद्का समयमा नागरिकको उद्धार तथा सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई थप हौसला र प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।





