
काठमाडौं । बडा दशैँ–२०८३ को अवसरमा सर्वसाधारण नागरिकको आवतजावत सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बलले सार्वजनिक यातायातको अभावका कारण यात्रुले भोग्नुपर्ने समस्यालाई न्यूनीकरण गर्दै यात्रालाई सहज र सुविधाजनक बनाउन दुईवटा बस निःशुल्क रूपमा सञ्चालनमा ल्याएको हो।

उक्त सेवा सोमबार, २०८३ कात्तिक २ गतेदेखि लगातार तीन दिनसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ। बस सेवा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उपलब्ध हुनेछ।
दशैँको समयमा सार्वजनिक यातायातका साधनमा यात्रुको चाप बढ्ने तथा सहज रूपमा यातायात सेवा पाउन कठिन हुने अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले यस्तो व्यवस्था गरेको हो। यसबाट उपत्यकाभित्र आवतजावत गर्ने सर्वसाधारण नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपालले चाडपर्वका बेला नागरिकको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ। नागरिकलाई सुरक्षित र सहज यात्रा उपलब्ध गराउने उद्देश्यले गरिएको यस पहलले चाडपर्वका समयमा सार्वजनिक सेवाप्रतिको जिम्मेवारीलाई समेत प्रतिबिम्बित गरेको छ।





