
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक रमेश राय ‘उत्कृष्ट प्रहरी कार्य–विपद् व्यवस्थापन पुरस्कार’ बाट सम्मानित भएका छन्। ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवामा कार्यरत प्रहरी निरीक्षक रायलाई विपद् व्यवस्थापनको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।
राष्ट्र र नागरिकको सेवामा समर्पित नेपाल प्रहरीको मूल आदर्श ‘सत्य सेवा सुरक्षणम्’ लाई आत्मसात् गर्दै मुलुकमा आइपर्ने विभिन्न विपद्का सङ्कटपूर्ण क्षणमा नागरिकको जीउधनको सुरक्षा तथा उद्धार कार्यमा उच्च व्यावसायिक क्षमता प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

विपद्का समयमा नागरिकको सुरक्षा, उद्धार तथा व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै उदाहरणीय कार्य प्रदर्शन गरेकाले प्रहरी निरीक्षक रायलाई पुरस्कारका लागि छनोट गरिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा असोज ३० गते जारी गरिएको सम्मानपत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रायको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै भविष्यमा पनि राष्ट्रसेवाको जिम्मेवारीमा थप प्रतिबद्धताका साथ लागिरहने विश्वास व्यक्त गरेका छन्। साथै, उनको उत्तरोत्तर प्रगतिको कामनासमेत गरिएको छ।
विपद्का बेला नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकतामा राख्दै कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीको योगदानको सम्मानका रूपमा यस पुरस्कारलाई हेरिएको छ। प्रहरी निरीक्षक रायको सम्मानले विपद् व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई थप जिम्मेवार, व्यावसायिक र सेवामुखी भएर काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।





