
काठमाडौं । थाइल्यान्डबाट मलेसिया हुँदै नेपाल आएका दुई भारतीय महिला १४ किलो गाँजासहित पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूलाई सोमबार (कात्तिक ९ गते) Batik Air को उडान नम्बर OD 182 मार्फत नेपाल आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको हो।

हवाई मार्ग हुँदै नेपाल आउने यात्रुको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरणबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४६ वर्षीया शबानाबानु यार मोहम्मद शेख र ३५ वर्षीया सरिफ अब्बास अन्सारी रहेका छन्। दुवै भारतीय नागरिक हुन्।
प्रहरीले उनीहरूको साथबाट १४ किलो गाँजा, दुई थान पासपोर्ट र दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै महिलामाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।





