
जनकपुरधाम । छोरीले आफूखुसी कोर्ट म्यारिज गरेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका जिल्ला सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी प्रमुखबीच विवाद चर्किएको छ। छोरीको विवाह बदर गराउन प्रहरीले सहयोग नगरेको भन्दै असन्तुष्ट यादवले सार्वजनिक कार्यक्रममै प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्कामाथि गम्भीर आरोप लगाएका छन्।
आइतबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यादवले एसपी खड्कालाई लक्षित गर्दै ‘घुसखोर’ र ‘दलाल’ जस्ता शब्द प्रयोग गरेका थिए। कार्यक्रममा धनुषा क्षेत्र नम्बर २ का सांसद रामविनोद यादव, क्षेत्र नम्बर ३ का सांसद मनिष झासहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

यादवले सामान्य विवादका घटनामा समेत आर्थिक लेनदेनका आधारमा प्रहरीले मुद्दा दर्ता गर्ने गरेको आरोप लगाएका छन्। आफूले प्रत्यक्ष रूपमा नदेखे पनि यस्ता घटनाबारे दर्जनौँ व्यक्तिले गुनासो गरेको उनको दाबी छ। घरायसी विवादमा समेत ज्यान मार्ने उद्योगजस्ता मुद्दा चलाइएको भन्दै उनले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका थिए।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफू र प्रहरी संगठनलाई लक्षित गरी लगाइएका आरोपप्रति आपत्ति जनाएका छन्। उनले ती आरोपलाई आपत्तिजनक, भ्रामक र तथ्यहीन भन्दै प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन्।
हराएको निवेदनदेखि प्रहरीसँगको विवादसम्म
जिल्ला प्रहरी कार्यालयका अनुसार हंसपुर नगरपालिका–८, भतही टोलका ५६ वर्षीय यादवले आफ्नी पारिवारिक महिला सदस्य हराएको भन्दै २०८३ असोज १७ गते खोजतलासका लागि निवेदन दिएका थिए। प्रहरीले अनुसन्धान गर्दा ती महिला हराएको नभई विवाह गरेर आफ्नो पतिसँग गएको खुलेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट असोज ८ गते नै विवाहको नाता कायम भएको र असोज १४ गते ती महिला आफ्नो पतिसँग गएको पाइएको थियो। प्रहरीले दुवै पक्षबीच प्रत्यक्ष कुराकानी गराउनुका साथै विवाहसम्बन्धी प्रमाण देखाएर यादवलाई वास्तविक अवस्थाबारे जानकारी गराएको जनाएको छ।
तर, आफ्नो मञ्जुरीबिना विवाह गरिएको भन्दै यादवले सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी विवाह छुटाइदिन दबाब दिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार विवाह गर्ने युवती २७ वर्ष र युवक २३ वर्षका छन्। जात नमिलेको र युवकको आर्थिक अवस्था कमजोर रहेको कारण यादवले विवाह स्वीकार नगरेको बुझिएको प्रहरी विज्ञप्तिमा उल्लेख छ।
यादवले हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएको र त्यसपछि सार्वजनिक कार्यक्रममा प्रहरी प्रमुखमाथि आरोप लगाएको पनि प्रहरीले जनाएको छ।
एसपीको प्रतिवाद : आरोप पुष्टि गर्न चुनौती
एसपी खड्काले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै अपुष्ट सामग्री सामाजिक सञ्जालमा प्रसार नगर्न आग्रह गरेका छन्। घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम अघि बढ्ने उनको भनाइ छ।
यस घटनाले वयस्क व्यक्तिको वैवाहिक निर्णय, पारिवारिक असहमति र प्रहरीमाथि दबाब सिर्जना गर्ने प्रयाससम्बन्धी प्रश्न उठाएको छ। विवाहसम्बन्धी कानुनी प्रक्रिया र प्रमाणका आधारमा प्रहरीले निर्णय लिनुपर्ने विषयमा समेत बहस सुरु भएको छ।
स्रोतका अनुसार रास्वपाका केही कार्यकर्ताले प्रहरीलाई आफ्नो पक्षअनुकूल काम गर्न दबाब दिँदै आएको र प्रहरीले त्यस्तो दबाब अस्वीकार गरेपछि असन्तुष्टि बढेको दाबी गरिएको छ। यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।





