
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–८ लामुनी गाउँमा पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
सोमबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पहिरो खस्न थालेपछि परिवारका सदस्यले समयमै घर छाडेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता भुवनप्रसाद तिमिल्सेनाले जानकारी दिए। घरमा क्षति भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ।
पहिरोमा गोठभित्र पुरिएका १० वटा बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको छ।
प्रहरीका अनुसार पहिरोका कारण लामुनी गाउँ नै जोखिममा परेको छ। स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।




