
सुनसरी, कात्तिक १६। सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित दुईवटा स्कार्पियो गाडी र पाँच जनालाई नियन्त्रणमा लिएको छ।
आज बिहान करिब ३ बजे दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका गाडीमा गाँजा लोड गरिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, सप्तरीकै राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहार प्रान्त, मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्। यादव बा.१ च ५०३८ नम्बरको स्कार्पियोका चालक हुन्।
त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्। शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट आठ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





