डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका छन्। शुक्रबार राति कारागारभित्रै सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक विवरण छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान करिब ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा संख्या अपुग भएपछि घटना सार्वजनिक भएको हो।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारबाट बाहिर निस्कन करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार हुनेमा विभिन्न मुद्दामा दोषी ठहर भएका ६ जना कैदी तथा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दुई जना थुनुवा रहेको जनाइएको छ।

घटनाको जानकारी पाएलगत्तै डीएसपी अनिलराज गिरीको नेतृत्वमा प्रहरी टोली कारागार पुगेको थियो। प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै कारागारमा जडान गरिएका सीसीटीभी फुटेज अध्ययन र फरार कैदीबन्दीको खोजी कार्य अघि बढाएको छ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले समेत कारागारबाट आठ जना कैदीबन्दी फरार भएको पुष्टि गरेका छन्।

कारागारभित्रै सुरुङ खनेर कैदीबन्दी फरार हुनुले कारागारको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। फरार कैदीबन्दीको खोजी तथा घटनामा सुरक्षा लापरबाही भए–नभएको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय