‌सिन्धुली । सिन्धुलीमा ९४.७५ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

२०८३ कात्तिक १२ गते साँझ करिब ६ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटस्थित सडकखण्डमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, सिरहा र इलाका प्रहरी कार्यालय खुर्कोटको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा खटिएको टोलीले सिरहाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०३५ प २५०० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि शंका लागेपछि चेकजाँच गर्ने क्रममा पछाडि सवार सप्तरीको सुरुङ्गा नगरपालिका–२ निवासी २२ वर्षीय निराजन चौधरीले बोकेको खैरो रङको झोलाभित्र दुईवटा सेतो प्लास्टिकमा राखिएको खैरो हेरोइनजस्तो देखिने अर्धगिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद पदार्थको प्लास्टिकसहित कुल तौल १०२.६२ ग्राम र प्लास्टिकबाहेक शुद्ध तौल ९४.७५ ग्राम रहेको छ।

उक्त घटनामा मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाउँपालिका–१ निवासी २८ वर्षीय प्रकाश थापा र मोटरसाइकलमा पछाडि सवार निराजन चौधरीलाई पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय