
काठमाडौं । लागूऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले एकैदिन तीन जिल्लामा विशेष अपरेसन सञ्चालन गरी ९१२ ग्राम खैरो हेरोइन र एक थान पेस्तोल बरामद गरेको छ। प्रहरीले उक्त कारबाहीका क्रममा सात जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले मोरङ, सिराहा र सिन्धुलीमा छुट्टाछुट्टै अपरेसन सञ्चालन गरी लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुभाषचन्द्र बोहराको नेतृत्व तथा प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेलको कमान्डमा खटिएको टोलीले उक्त सफलता हासिल गरेको बताइएको छ।
प्राप्त विवरणअनुसार, मोरङको रतुवामाई नगरपालिका–६, शनिश्चरे बजारमा सञ्चालन गरिएको अपरेसनका क्रममा प्रहरीले करिब ५०० ग्राम खैरो हेरोइन र एक थान पेस्तोल बरामद गरेको छ। उक्त घटनामा दुई भारतीय नागरिक र एक नेपाली नागरिक पक्राउ परेका छन्।
हतियारसहित रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोलीसमेत चलाएको स्रोतले जनाएको छ। स्रोतका अनुसार एक भारतीय नागरिकको घुँडामुनि दुई राउन्ड र अर्का एक जनालाई एक राउन्ड गोली लागेको छ।
त्यस्तै, सिराहाको मल्हनियामा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले हवाई फायर गर्दै ३१२ ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
यसैगरी, लागूऔषध कारोबारसम्बन्धी अनुसन्धानका क्रममा ब्युरोको सिराहा शाखाबाट खटिएको टोलीले सिन्धुलीबाट थप १०० ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
तीन जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीबाट कुल ९१२ ग्राम खैरो हेरोइन, एक थान पेस्तोल बरामद हुनुका साथै सात जना पक्राउ परेका छन्।
पछिल्लो समय लागूऔषधको अवैध कारोबार तथा अन्तरजिल्ला र सीमापार ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै ब्युरोले निगरानी र अनुसन्धानलाई तीव्र बनाएको छ। एकैदिन तीन जिल्लामा गरिएको यस कारबाहीले लागूऔषध कारोबारमा संलग्न समूहविरुद्ध प्रहरीको सक्रियता बढेको संकेत गरेको छ।
पक्राउ परेका व्यक्तिहरूको संलग्नता, लागूऔषधको स्रोत तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





