
काठमाडौं । बिचौलियाको आरोपमा पक्राउ परेकी इनम सापकोटामाथि अनुसन्धान जारी रहेकाले अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना सार्वजनिक नगर्न प्रहरीले सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार विज्ञप्ति जारी गर्दै इनम सापकोटाको मुद्दासँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धान अधिकृतलाई सूचनाको स्रोतका रूपमा उल्लेख गर्दै अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक भइरहेका छन्। यसप्रति ध्यानाकर्षण गराउँदै परिसरले अनुसन्धानको गोपनीयता र संवेदनशीलता कायम राख्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘इनम सापकोटाको मुद्दासँग जोडी विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचार तथा सामग्रीहरूमा अनुसन्धान अधिकृतलाई सूचनाको स्रोत सङ्केत गरी अनुसन्धानसँग सम्बन्धित विषयहरू सार्वजनिक गरिएको समाचार तथा सामग्रीहरूको सन्दर्भमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
उक्त मुद्दाको अनुसन्धान प्रचलित कानुन र निर्धारित प्रक्रियाअनुसार गोप्य रूपमा भइरहेको जनाउँदै प्रहरीले अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण तथा सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।
अनुसन्धानको निष्पक्षता, व्यावसायिकता र गोपनीयता कायम राख्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै परिसरले मुद्दाको संवेदनशीलतालाई ध्यानमा राखेर समाचार तथा सामग्री प्रकाशन गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
त्यसैगरी, मुद्दासँग सम्बन्धित सूचना तथा सामग्री सम्प्रेषण गर्दा तथ्यको आधिकारिकता पुष्टि गर्न र अपुष्ट विवरणका आधारमा जनमानसमा भ्रम सिर्जना हुने अवस्था आउन नदिन प्रहरीले आग्रह गरेको छ।
विज्ञप्तिमा अनुसन्धानको संवेदनशीलता र प्रचलित कानुनी व्यवस्थाको पालना नगरी सूचना तथा सामग्री सम्प्रेषण वा प्रकाशन गरिए कानुनबमोजिम हुने चेतावनीसमेत दिइएको छ।
इनम सापकोटा प्रकरण पछिल्लो समय प्रहरी संगठनको उच्च नेतृत्वसँग जोडिएर समेत सार्वजनिक चर्चामा रहेको छ। यस्तो अवस्थामा अनुसन्धानको निष्पक्षता र गोपनीयता कायम राख्नुका साथै सार्वजनिक चासोका विषयमा आधिकारिक तथ्य र सूचनाको प्रवाह सुनिश्चित गर्नु प्रहरीका लागि चुनौतीपूर्ण देखिएको छ।





