विराटनगर । कोशी प्रदेशका चार जिल्लाबाट प्रहरीले विभिन्न प्रकारका लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। झापा, मोरङ, सुनसरी र धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कात्तिक १२ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको टोलीले चेकजाँचका क्रममा मिक्लाजुङ गाउँपालिका–७ का कुशल दाहाल र झापाको शिवसताक्षी नगरपालिका–८ का सन्तोष सार्कीलाई ५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यस्तै, प्रहरी चौकी इटहराबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–९ का प्रताप विश्वकर्मलाई २० ग्राम गाँजासहित पक्राउ गरेको छ। सोही क्रममा झापाको दमक नगरपालिका–४ का सुमन सुवेदीलाई ट्रामाडोल ६६ क्याप्सुल र स्पास्पेन ८६ ट्याब्लेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसैगरी, झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका–४ का सञ्जय चौधरीलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

धनकुटामा पनि प्रहरीले लागूऔषधविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। प्रहरी चौकी हिलेबाट खटिएको टोलीले धनकुटा नगरपालिका–१ का शिशिर बस्नेत र पाख्रिबास नगरपालिका–५ का सुरज तामाङलाई दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले साँगुरीगढी गाउँपालिका–४ का डम्बर इवा लिम्बुलाई आफ्नै घरबाट १० किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

चार जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर, गाँजा तथा प्रतिबन्धित औषधिजन्य पदार्थसहित आठ जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय