काठमाडौं । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको आधिकारिक धारणा बाझिएको छ। प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता र पूर्वजानकारी नरहेको दाबी गरेको छ भने नेपाल प्रहरीले भने प्रधानमन्त्री कार्यालयबाट भएको चासोका आधारमा सञ्चारकर्मीहरूलाई बोलाइएको जनाएको छ।

नेपाल प्रहरीले शुक्रबार मध्यरातमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा पछिल्लो समय नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू निरन्तर प्रचार भइरहेको उल्लेख गरेको छ।

यस्ता प्रचारले प्रहरीको व्यावसायिकता, सर्वसाधारणको विश्वास, सरकार र प्रहरी संगठनबीचको सम्बन्ध तथा अनुसन्धान प्रक्रियालगायतका विषयमा जनमानसमा नकारात्मक धारणा सिर्जना गर्ने प्रहरीको दाबी छ।

प्रहरीका अनुसार प्रधानमन्त्री कार्यालयबाट व्यक्त चासोप्रति क्रियाशील हुँदै नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीलाई कार्यालयमा बोलाएको हो। त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारबारे सामान्य जानकारी लिने उद्देश्यले सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको भनाइ छ।

‘त्यस्ता प्रचारबाजीको सत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोले केही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ।

प्रहरीले उक्त कदमलाई सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने कार्यका रूपमा व्याख्या गरेको छ। साथै, राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी सकारात्मक रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको जनाएको छ।

तर, प्रधानमन्त्रीको सचिवालयले भने उक्त घटनामा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नरहेको स्पष्ट पारेको छ।

प्रधानमन्त्री कार्यालयको चासोका आधारमा सञ्चारकर्मीलाई बोलाइएको प्रहरीको दाबी र सचिवालयको खण्डनबीच देखिएको यो विरोधाभासले घटनाबारे थप प्रश्न उब्जाएको छ। आखिर सञ्चारकर्मीलाई बोलाउने निर्णय कसको निर्देशनमा र कुन आधारमा गरिएको थियो भन्ने विषय अब थप स्पष्ट हुनुपर्ने देखिन्छ।

प्रहरीको विज्ञप्ती यस्तो छ :

हालका दिनहरूमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमानिरन्तर प्रचार भइरहेको सन्दर्भमा यस्ता सन्देशहरूले प्रहरीको व्यावसायिकता, सर्वसाधारणप्रतिको विश्वास, सरकार र प्रहरी संगठनबिचको सम्बन्ध, अनुसन्धानलगायतका विषयमा जनमानसमा नकारात्मक भावना जानेविषयलाई लिएर प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै, सो सम्बन्धमा त्यस्ता प्रचारबाजीकोसत्यता, तथ्यपरकता र कानुनी आधारका बारेमा सामान्य जानकारी लिने उद्देश्यले नेपाल प्रहरीको साइबर ब्युरोलेकेही सञ्चारकर्मीहरूलाई कार्यालयमा बोलाएको कार्य प्रहरीको कार्यसम्पादनअन्तर्गतको सही मनसाय हो।

यसलाई मनन गर्दा सुरक्षित समाजको निर्माण गर्न सबै जनमानसमा सहयोग पुग्ने अवस्थाको सिर्जना हुन्छ।राज्यको चौथो अंग प्रेसप्रति नेपाल प्रहरी जहिले पनि सकारात्मक भावनाका साथ प्रेस स्वतन्त्रता रसञ्चारकर्मीहरूको सुरक्षाप्रति सदैव प्रतिबद्ध र कटिबद्ध रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय