कास्की । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा, कास्कीले प्रहरी नायव निरीक्षक (प्रनानि) नरेन्द्र बहादुर शाहीलाई २०८३ साल असोज महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जामा कार्यरत शाहीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै जिल्लाको समग्र ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको हो।

शाहीले सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी दुई थान मोटरसाइकल प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, सिद्धार्थ राजमार्ग तथा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्थानमा जानकारीमूलक ट्राफिक संकेत बोर्ड राख्ने कार्यसमेत गरेका थिए।

चाडपर्वलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाभर यात्रा स्मरण कार्यक्रमसहित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्न उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी यात्रु सहायता कक्ष स्थापना गर्न पहल गरेका थिए। सहायता कक्षमार्फत सार्वजनिक सवारीका चालकहरूको स्वास्थ्य परीक्षण, लागूऔषध सेवन (लापसे) परीक्षण तथा यात्रुहरूलाई सुरक्षित यात्रासम्बन्धी परामर्श प्रदान गर्ने कार्यलाई समेत प्रभावकारी बनाइएको थियो।

सवारी ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, जनचेतना अभिवृद्धि र ट्राफिक व्यवस्थापनका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै शाहीलाई असोज महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी (Best Traffic Police of the Month)’ घोषणा गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले २०८३ कात्तिक १३ गते जारी गरेको घोषणामार्फत शाहीलाई सम्मान गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय