
काठमाडौं । जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा नयाँ बसपार्क प्रहरी प्रभागको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ।
यो अवधिमा नयाँ बसपार्कको शान्ति–सुरक्षा, अपराध नियन्त्रण र यात्रुमैत्री वातावरण निर्माणमा सुधार आएको स्थानीय व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरू बताउँछन्।

यात्रुलाई जबर्जस्ती तान्ने, झोला तान्ने, लुटपाट तथा ठगी गर्ने गतिविधिमाथि निगरानी र कारबाही बढाइएको छ। विशेषगरी दुई नम्बर गेट क्षेत्रमा यात्रुलाई हुने तानातान र हैरानी नियन्त्रणमा आएपछि आवतजावत सहज बनेको स्थानीयको अनुभव छ।
लागूऔषधजन्य गतिविधिविरुद्ध निरन्तर निगरानी र कारबाही, अवैध लागूऔषधको बिक्री–वितरण तथा ओसारपसार नियन्त्रण, ठूलो मात्रामा घरेलु मदिरा नष्ट गर्ने अभियानदेखि दोहोरी साँझ, डिस्को, होटल तथा खाजा घरमा हुने अवाञ्छित गतिविधिमाथि समेत कडाइ गरिएको छ।
स्थानीय तहसँगको समन्वयमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोप लागेका दर्जनभन्दा बढी खाजा घरमा ताला तथा सिलबन्दी गर्ने कार्यसमेत भएको छ। होटलमा बिचौलियामार्फत ग्राहक तान्ने तथा ठगी गर्ने प्रवृत्तिमाथि पनि निगरानी बढाइएको बताइएको छ।
त्यसैगरी स्थानीय व्यवसायी, जनप्रतिनिधि, नागरिक समाज र प्रहरीबीच निरन्तर छलफल तथा अन्तरक्रियामार्फत नागरिकका समस्या सुन्ने र समाधान गर्ने वातावरण निर्माण भएको स्थानीयको भनाइ छ।
कुनै समय ‘नयाँ बसपार्क’ भन्नेबित्तिकै असुरक्षा, लुटपाट र अवाञ्छित गतिविधिको छवि जोडिने गरेकोमा पछिल्लो समय शान्ति–सुरक्षा र नागरिकको सुरक्षाको अनुभूति बढ्दै गएको स्थानीय बताउँछन्।
जेनजी आन्दोलनपछिको चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेका श्रेष्ठको एक वर्षलाई नयाँ बसपार्कमा सुरक्षा सुधारको महत्वपूर्ण अध्यायका रूपमा हेरिएको छ।
प्रहरी निरीक्षक शंकर श्रेष्ठ नेपाल प्रहरीभित्र कुशल र काबिल कमाण्डर अफिसरका रूपमा परिचित छन्। नेतृत्वदायी जिम्मेवारीमा रहँदा सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठलाई चुनौतीपूर्ण परिस्थितिमा पनि परिणाममुखी काम गर्न सक्ने अधिकृतका रूपमा हेरिन्छ। प्रहरी कर्मचारीलाई परिचालन गर्ने क्षमता, स्थानीय समुदायसँग समन्वय र सुरक्षा चुनौतीलाई नजिकबाट पहिचान गरी तत्काल आवश्यक कदम चाल्ने शैली उनका कार्यसम्पादनका प्रमुख पक्ष मानिन्छन्।
– स्कुपखबर बाट साभार




