
जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका–६ बाट अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले ११ दिनपछि सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोको सोमबार राति बिदेह नगरपालिका–१ स्थित नेपाल–भारत सीमावर्ती दशगज्जा क्षेत्रबाट उद्धार गरिएको हो।

बालकलाई छाडेर भाग्ने क्रममा रहेकी कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार प्रहरी टोलीले बालक रहेको स्थान पत्ता लगाएपछि उद्धारका लागि पुगेको थियो।
गत भदौ १८ गते बालक अपहरणमा परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित विशेष टोली परिचालन गरी निरन्तर खोजी तथा अनुसन्धान गर्दै आएको थियो। अनुसन्धानका क्रममा बालकलाई सीमावर्ती दशगज्जा क्षेत्रमा राखिएको खुलेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।
प्रहरीलाई देखेपछि बालकलाई छाडेर भाग्न खोजेकी महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका बालकलाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको छ।
पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




