
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप) भण्डारण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौँका शुभम गुप्ता र राजन मोक्तान तथा काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ रहेका छन्।

प्रहरीले उनीहरूको साथ तथा उनीहरू संलग्न रहेको गोदामबाट २ हजार ७७० थान प्रतिबन्धित भेप बरामद गरेको छ।
विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले काठमाडौँ महानगरपालिका–६, चुच्चेपाटीस्थित ‘रेसा कलेक्सन’ नामको गोदाम र महाबौद्धस्थित आरएचएस इन्टरनेसनल प्रालिमा छापा मारेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पूर्णलाल श्रेष्ठको गोदामबाट २ हजार ६७० थान र आरएचएस इन्टरनेसनल प्रालिबाट थप १०० थान भेप बरामद भएको हो।
प्रहरीका अनुसार पक्राउ परेका चारै जना प्रतिबन्धित भेपको भण्डारण तथा कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।




