
झापा । आफू सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै झुटो परिचय दिई सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब र धाकधम्की दिने आरोपमा झापामा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले आफू विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको दाबी गर्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने र त्यहाँ दबाब तथा धाकधम्की दिने गरेको आरोप छ।
उनले दाबी गरेका पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विश्वकर्माले झुटो परिचय दिई कसैबाट कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।




