काठमाडौं । थाइल्याण्डबाट काठमाडौं ल्याइएको ३ केजी गाँजासहित तीन जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार क्याथे प्यासिफिक एयरलाइन्समार्फत थाइल्याण्डबाट हङकङ हुँदै काठमाडौं आएका म्यानमारका नागरिक ZIN ZIN PHYO लाई शंकास्पद गतिविधिका आधारमा निगरानी गरिएको थियो। उनलाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित एक होटलबाट पक्राउ गरिएको हो।

ब्युरोका अनुसार उनको साथमा रहेको सुटकेसभित्र फल्स बटम बनाई लुकाइएको अवस्थामा थाइल्याण्डको गाँजा ३ केजी बरामद भएको छ।

अनुसन्धानका क्रममा उक्त गाँजा लिन भारतको गोरखपुरबाट काठमाडौं आएका दुई भारतीय नागरिकसमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, गोरखपुरका ३० वर्षीय BARKATULLAH र २५ वर्षीय YUSUF KHAN रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका म्यानमारका नागरिक ZIN ZIN PHYO सिंगापुरमा सिमेन्टको काम गर्दै आएका थिए। उनी सिंगापुरबाट म्यानमार गई त्यहाँबाट गाँजा लुकाइएको सुटकेससहित भियतनाम हुँदै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, BARKATULLAH र YUSUF KHAN ले म्यानमारका नागरिक ZIN ZIN PHYO ले साथमा ल्याएको थाइल्याण्डको गाँजा लिन गोरखपुरबाट काठमाडौं आएको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूको साथबाट ३ केजी गाँजा, राहदानी थान–३ र मोबाइल थान–३ बरामद गरेको जनाएको छ।

ब्युरोका अनुसार बरामद गाँजा भारत पुर्‍याएपछि अवैध बजारमा यसको मूल्य करिब १ करोड २० लाख रुपैयाँ हुने खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय