
बाँके । सशस्त्र प्रहरीले बाँकेको खजुरास्थित सैनिक क्षेत्र नजिकबाट भारतबाट अवैध रूपमा ल्याइएको ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं। ३० गण बागेश्वरी बाँकेका अनुसार बीओपी बढैयाअन्तर्गतको सुरक्षा पोस्ट सैनिकबाट आज दिउँसो सवा २ बजे सशस्त्र प्रहरी नायब निरीक्षक पदम खड्काको कमान्डमा खटिएको पाँच जनाको टोलीले खजुरा गाउँपालिका–१ स्थित बेलडाँडाबाट ४ हजार ३ सय २० पत्ता (४३ हजार २ सय क्याप्सुल) ट्रामाडोल बरामद गरेको हो।

भारतबाट अवैध रूपमा ल्याइएको उक्त ट्रामाडोलसँगै भे ६ प ६०२६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध ओसारपसार, सीमा अपराध नियन्त्रण तथा लागूऔषधविरुद्धको कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल बाँकेको निर्देशनअनुसार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ मोटरसाइकलमा प्रतिबन्धित औषधि लिएर आउँदै गरेका व्यक्ति ट्रामाडोल र मोटरसाइकल छाडेर फरार भएका थिए। प्रतिबन्धित औषधि लिएर आउने व्यक्तिको पहिचान तथा खोजतलास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद ट्रामाडोल र नियन्त्रणमा लिइएको मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार, लागूऔषध कारोबार तथा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप प्रभावकारी बनाउँदै आएको छ। सीमामा कडाइ बढाएसँगै अवैध रूपमा ल्याइने लागूऔषध तथा अन्य अवैध सामग्री बरामद हुने क्रमसमेत बढेको छ।




