महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा एक युवकको शव सेफ्टी ट्याङ्कीभित्र फेला परेको छ। भंगाहा नगरपालिका–६ का अन्दाजी २२ वर्षीय विवेक कुमार सरदारको शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ हिँडेपछि सम्पर्कविहीन भएका थिए।

विवेक बेपत्ता भएपछि उनका बुवा अशोक कुमार वातरले भदौ १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए। निवेदनपछि प्रहरीले खोजतलास गर्ने क्रममा बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घरपछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र विवेकको शव फेला पारेको हो।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामा बलवा नगरपालिका–७ का अन्दाजी ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी ५५ वर्षीया श्रीमती रामकली देवी, अन्दाजी २२ वर्षीया बुहारी सोनु कुमारी ठाकुर तथा महोत्तरी गाउँपालिका–५ का अन्दाजी ३७ वर्षीय सियाराम शर्मा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय