झापा । झापाको झापा गाउँपालिका–१, सालमाराबाट प्रहरीले १५०.१४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा उनीहरू भारततर्फ भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड चेतावनीस्वरूप हवाई फायर गरेको जनाएको छ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट खैरो हेरोइन ल्याएर कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने समूहको निगरानी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कात्तिक ११ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पहिचान गर्न खोज्दा भारततर्फ भाग्न खोजेको प्रहरीको दाबी

ब्युरोका अनुसार भारतको कुतुवा भिट्टाबाट मोटरसाइकलमा नेपालतर्फ आइरहेका उनीहरूलाई लागूऔषध कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले पहिचान गर्न खोजेको थियो। सोही क्रममा उनीहरू अचानक फर्किएर भारततर्फ भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उनीहरूको साथबाट १५०.१४० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

दुई मोटरसाइकल र मोबाइल फोन बरामद

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट लागूऔषधसँगै दुईवटा मोटरसाइकल र दुईवटा मोबाइल फोनसमेत बरामद गरेको छ।

बरामद मोटरसाइकलमध्ये नेपाली नम्बर प्लेटको मे ७ प ३ सुपर स्प्लेन्डर र भारतीय नम्बर प्लेटको बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन रहेको ब्युरोले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद, झापामा बुझाइएको छ।

लागूऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाद्वारा जारी विज्ञप्तिअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय