
काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा तथा काजसम्बन्धी आवेदन अब अनलाइनबाटै दिन सकिने व्यवस्था लागू गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सरुवा तथा काजका लागि सम्बन्धित कार्यालय वा विभागमा भौतिक रूपमा उपस्थित भएर आवेदन दिनुपर्ने पुरानो व्यवस्थालाई परिमार्जन गर्दै ‘अनलाइन सरुवा तथा काज व्यवस्थापन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको हो।

नयाँ व्यवस्थाअनुसार इन्टरनेट पहुँच भएका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले अनलाइन प्रणालीमार्फत सरुवा तथा काजका लागि आवेदन पेश गर्न सक्नेछन्। त्यसका लागि सम्बन्धित कर्मचारीले आफ्नो कार्यरत कार्यालयबाट dms.nepalpolice.gov.np मा लगइन गरी तोकिएको प्रक्रिया र मार्गनिर्देशनअनुसार आवेदन पठाउनुपर्नेछ।
नेपाल प्रहरीले नयाँ प्रणालीबाट सरुवा तथा काजको आवेदन प्रक्रियालाई थप सरल, व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने अपेक्षा गरेको छ।
मानवस्रोत विकास विभागका अनुसार प्रणाली सञ्चालनबारे प्रहरी प्रधान कार्यालयका विभिन्न शाखा, ब्युरो तथा निर्देशनालयसहित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयहरूलाई जानकारी गराइसकिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले जारी गरेको सूचनामार्फत नयाँ प्रणालीबारे सम्बन्धित सबैलाई जानकारी गराउँदै आवश्यक कार्यान्वयनका लागि अनुरोध गरिएको छ।




