काठमाडौं । नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका डा. मनोज केसीले बुधबारदेखि औपचारिक रूपमा संगठनको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्नबाट सुशोभित भएसँगै उनले देशभर कार्यरत ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।

पदभार ग्रहण गरेलगत्तै आईजीपी केसीले प्रहरी प्रधान कार्यालयबाट देशभरका प्रहरी युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै संगठन सञ्चालनका प्राथमिकता, कार्यशैली र आगामी कार्यदिशाबारे निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयस्थित अडिटोरियम हलमा आयोजित ब्रिफिङमा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) तथा सोभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकृतहरूको समेत उपस्थिति थियो।

नयाँ नेतृत्व सम्हालेसँगै केसीले प्रहरी संगठनभित्र निष्पक्षता, व्यावसायिकता, अनुशासन र जवाफदेहितालाई प्राथमिकतामा राख्ने संकेत गरेका छन्। उनले संगठनभित्र कसैलाई पनि प्रतिशोधपूर्ण व्यवहार नगरिने स्पष्ट पार्दै व्यक्तिगत गल्तीको जिम्मेवारी संगठनमाथि थोपर्न नहुने धारणा राखेका छन्।

‘व्यक्तिले गरेको गलत कामको भारी संगठनले बोक्दैन तर, यसो भन्दै गर्दा कसैसँग प्रतिशोध पनि साँधिने छैन,’ ब्रिफिङका क्रममा उनले भने। उनको यो अभिव्यक्तिले विगतका घटनालाई आधार बनाएर संगठनभित्र कसैमाथि पूर्वाग्रह राख्नेभन्दा पनि गल्ती र जिम्मेवारीलाई छुट्याएर मूल्यांकन गर्ने नीति अपनाउन खोजेको संकेत गर्छ।

त्यस्तै, संगठनभित्र कसैलाई काखापाखा नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबै प्रहरी कर्मचारीलाई समान व्यवहार गरिने बताएका छन्। जिम्मेवारी, अवसर, सरुवा तथा बढुवामा व्यक्तिगत निकटता वा पहुँचभन्दा कार्यसम्पादन र व्यावसायिक क्षमतालाई आधार बनाइने उनको भनाइ छ।

आईजीपी केसीले प्रहरी संगठनको आन्तरिक गोपनीयतालाई पनि गम्भीरतापूर्वक लिएको देखिन्छ। संगठनभित्रका संवेदनशील विषय तथा अनुसन्धानका क्रममा रहेका सूचनाहरू अनधिकृत रूपमा बाहिर पुर्‍याउने प्रवृत्तिप्रति उनले कडा चेतावनी दिएका छन्।

‘संगठनको गोपनीयता हनन गर्नेलाई कुनै कसर बाँकी नराखी कानुनअनुसार कारबाही गरिन्छ,’ उनले स्पष्ट पारेका छन्। अनुसन्धानसँग सम्बन्धित संवेदनशील सूचना चुहिँदा अनुसन्धान प्रभावित हुने, प्रमाण नष्ट हुन सक्ने र संगठनको व्यावसायिक विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने भएकाले यस विषयमा अनुशासन कायम गर्नुपर्ने उनको जोड देखिन्छ।

सरुवा तथा बढुवालाई पारदर्शी, निष्पक्ष र अनुमानयोग्य बनाउने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्। प्रहरी कर्मचारीको कार्यसम्पादन, क्षमता, अनुभव र जिम्मेवारी निर्वाह गर्ने दक्षताका आधारमा उपयुक्त स्थानमा खटाइने उनको उद्घोष छ।

‘कार्यसम्पादनको आधारमा पोस्टिङ गरिनेछ,’ उनले भनेका छन्। यसले लामो समयदेखि सरुवा तथा बढुवामा पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्ध हाबी हुने गरेको भन्दै उठ्दै आएका गुनासालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, पछिल्लो समय विभिन्न कारणले प्रभावित भएको प्रहरी कर्मचारीको मनोबल (मोरल) उकास्ने विषयलाई पनि आईजीपी केसीले प्राथमिकतामा राखेका छन्। प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारीप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्ने, व्यावसायिक क्षमताको कदर गर्ने र इमानदार तथा कर्तव्यनिष्ठ कर्मचारीलाई प्रोत्साहित गर्ने दिशामा काम गर्ने उनको प्रतिबद्धता छ।

प्रहरी संगठनको प्रभावकारिता केवल आदेश र निर्देशनबाट मात्र सम्भव हुँदैन। तल्लो तहका कर्मचारीको मनोबल, नेतृत्वप्रतिको विश्वास, जिम्मेवारीअनुसारको मूल्यांकन र संगठनभित्रको न्यायपूर्ण व्यवहारले पनि कार्यसम्पादनमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले नयाँ नेतृत्वका लागि प्रहरी कर्मचारीको मनोबल बढाउनु र संगठनप्रति विश्वास पुनःस्थापित गर्नु महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।

आईजीपी केसीका प्रारम्भिक निर्देशनले संगठनभित्र प्रतिशोधभन्दा निष्पक्षता, पहुँचभन्दा कार्यसम्पादन, पक्षपातभन्दा समान व्यवहार र अनुशासनहीनताभन्दा जवाफदेहितालाई प्राथमिकता दिने सन्देश दिएको छ।

अब यी प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने कुरा उनको नेतृत्वको वास्तविक परीक्षा हुनेछ। विशेषगरी सरुवा–बढुवामा पारदर्शिता, अनुसन्धानको निष्पक्षता, संगठनको गोपनीयता, कर्मचारीको मनोबल र नागरिकप्रतिको प्रहरी व्यवहारमा देखिने सुधारले उनको नेतृत्वको मूल्यांकन गर्ने आधार तय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय