काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले नागरिकको सुरक्षा, सम्मान र भरोसालाई नेपाल प्रहरीको सर्वोच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रहरी संगठनको नेतृत्व सम्हाल्दै गर्दा उनले संविधान र प्रचलित कानुनप्रति पूर्ण निष्ठावान् रहने तथा संगठनको व्यावसायिक मर्यादा, निष्पक्षता र गरिमामा कुनै पनि प्रकारको सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै आईजीपी केसीले नेपाल प्रहरीलाई नागरिकमैत्री, जवाफदेही, व्यावसायिक र भरोसायोग्य संगठनका रूपमा स्थापित गर्ने आफ्नो प्राथमिकता सार्वजनिक गरेका हुन्।

उनले प्रहरी संगठनको वास्तविक शक्ति केवल जनशक्ति, हतियार र स्रोतसाधनमा नभई नागरिकले प्रहरीप्रति गर्ने विश्वासमा निहित रहेको उल्लेख गरे। प्रहरी देख्दा नागरिकमा डर होइन, सुरक्षा र भरोसाको अनुभूति हुनुपर्ने उनको भनाइ थियो।

‘आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्। प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्,’ उनले भने।

आईजीपी केसीले प्रहरी संगठनभित्रको आन्तरिक व्यवस्थापन सुधारलाई पनि आफ्नो कार्ययोजनाको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि सारेका छन्। विशेषगरी तल्लो तहमा कार्यरत प्रहरी कर्मचारीदेखि माथिल्लो तहसम्मका कर्मचारीका समस्या, गुनासा र सुझावलाई संस्थागत रूपमा सम्बोधन गर्ने उद्देश्यले आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा गरेका छन्।

प्रहरी संगठनको जग मानिने आधारभूत तहका कर्मचारीको मनोबल उच्च नभएसम्म प्रभावकारी सेवा प्रवाह सम्भव नहुने उनको बुझाइ देखिन्छ। लामो कार्यघण्टा, सीमित स्रोतसाधन, भौतिक पूर्वाधारको अभाव, आवास तथा कार्यस्थलका समस्या, सरुवा–बढुवामा निष्पक्षता र प्रहरी कर्मचारीको मानसिक स्वास्थ्यजस्ता विषयमा गम्भीर भएर काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

प्रहरी कर्मचारीले संगठनभित्रै आफ्ना समस्या राख्न पाउने, गुनासो सुनुवाइ हुने र न्यायोचित सम्बोधनको वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड छ। यसले प्रहरी संगठनभित्रको आन्तरिक विश्वास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रहरी संगठनको व्यावसायिकता कायम राख्न राजनीतिक तथा अन्य बाह्य प्रभावबाट मुक्त राख्नुपर्ने विषयलाई पनि उनले महत्त्वका साथ उठाएका छन्। प्रहरीलाई दलीय प्रभावबाट टाढा राख्दै कानुनअनुसार स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्ने वातावरण निर्माण गर्न राजनीतिक दलहरूबाट सहयोगको अपेक्षा गरेका छन्।

‘प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोग आवश्यक छ,’ उनको आशय थियो।

उनले प्रहरीको प्रभावकारी कार्यसम्पादनका लागि पर्याप्त स्रोतसाधन, आवश्यक कानुनी स्पष्टता र कार्यगत स्वायत्तता अपरिहार्य रहेको पनि औंल्याए। सरकारसँग यी विषयमा आवश्यक सहयोग र सहजीकरणको अपेक्षा गर्दै उनले प्रहरीलाई जिम्मेवारीअनुसार काम गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राखेका छन्।

नेपाल प्रहरी पछिल्लो समय जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री अनुसन्धान, बढ्दो साइबर अपराध, संगठित अपराध, लागूऔषध नियन्त्रण, सीमा अपराध तथा नागरिक सुरक्षाका चुनौतीसँग जुधिरहेको छ। यस्तो अवस्थामा नयाँ प्रहरी नेतृत्वका लागि संगठनको आन्तरिक सुधारसँगै अपराध नियन्त्रण र नागरिकको विश्वास अभिवृद्धि गर्नु प्रमुख चुनौतीका रूपमा रहनेछ।

विशेषगरी सरुवा–बढुवामा निष्पक्षता, प्रहरी कर्मचारीको वृत्तिविकास, कार्यस्थलको अवस्था र तल्लो तहका कर्मचारीको मनोबल सुधार गर्ने प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषयले नयाँ नेतृत्वको कार्यसम्पादन मूल्याङ्कनमा महत्त्वपूर्ण अर्थ राख्नेछ।

आईजीपी केसीका प्रारम्भिक प्रतिबद्धताले प्रहरी संगठनलाई केवल आदेश र नियन्त्रणमा आधारित संरचनाबाट नागरिक सेवा, जवाफदेहिता र व्यावसायिकतामा केन्द्रित बनाउने संकेत गरेको छ। अब उनका घोषणाहरू कार्ययोजना, संस्थागत निर्णय र व्यवहारमा रूपान्तरण हुनु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ।

नागरिकको भरोसा जित्ने प्रहरी, बर्दीको सम्मान जोगाउने प्रहरी कर्मचारी र राजनीतिक हस्तक्षेपमुक्त व्यावसायिक संगठन निर्माण गर्ने उनको प्रतिबद्धता कार्यान्वयन भएमा नेपाल प्रहरीको संस्थागत छविमा सकारात्मक परिवर्तन आउने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय