रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट मोटरसाइकलमा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०८३ साल कात्तिक १८ गते दिउँसो करिब ३:३० बजे ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक भारतबाट मठिया–महुलिया आउने सडकखण्डमा नियमित चेकजाँच भइरहेको थियो।

सोही क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल (म.प्र. ०५–००१ प ०५७८) रोकी जाँच गर्दा चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया ग्राम वडा नं. १३ निवासी करिब ३० वर्षीय सनि कुमार जैसवालको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले थप अनुसन्धान तथा खानतलासीका क्रममा गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरेको थियो।

यसरी मोटरसाइकल चालकबाट बरामद ३० लाख र व्यापारिक प्रतिष्ठानबाट बरामद थप रकमसहित कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ।

घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिई बरामद नगद रकमसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय