बर्दिया । सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित, मर्यादित र जिम्मेवार बनाउन जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरी कर्मचारीहरूलाई अनुशिक्षण प्रदान गरेको छ।

१८ कात्तिक २०८३ मा जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक नवीन शर्माले सामाजिक सञ्जालको सुरक्षित, मर्यादित तथा जिम्मेवार प्रयोग, यसका सकारात्मक र नकारात्मक पक्षहरू तथा प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा प्रशिक्षण दिएका थिए।

पछिल्लो समय सामाजिक सञ्जालमा प्रहरी कर्मचारीहरूको गतिविधि र अभिव्यक्ति संगठनभित्रै चर्चाको विषय बन्न थालेका छन्। कतिपय प्रहरी कर्मचारीले प्रहरी संगठन, नेतृत्व तथा विभिन्न निर्णयसँग सम्बन्धित समाचारमा सार्वजनिक रूपमा समर्थन जनाउने, आलोचनात्मक टिप्पणी गर्ने तथा संगठनको आन्तरिक विषयलाई सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्ने गरेको पाइन्छ।

कतिपय अवस्थामा प्रहरी कर्मचारीका सामाजिक सञ्जाल गतिविधिलाई लिएर संगठनभित्र स्पष्टीकरण सोध्ने तथा विभागीय कारबाहीसमेत भएका उदाहरण सार्वजनिक भएका छन्। यसले प्रहरी कर्मचारीको व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग र संगठनको संस्थागत मर्यादाबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ।

प्रहरी कर्मचारी पनि नागरिक भएकाले उनीहरूलाई व्यक्तिगत विचार राख्ने अधिकार हुन्छ। तर वर्दीधारी संगठनमा आबद्ध कर्मचारीका सार्वजनिक अभिव्यक्तिले संगठनको छवि, जनविश्वास र कार्यसम्पादनमा समेत प्रभाव पार्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोग गर्दा थप जिम्मेवार र सचेत हुनुपर्ने देखिन्छ।

विशेषगरी अपुष्ट सूचना सम्प्रेषण गर्ने, गोप्य वा संवेदनशील विवरण सार्वजनिक गर्ने, संगठनको आधिकारिक धारणा नबुझी संस्थागत विषयमा टिप्पणी गर्ने तथा सामाजिक सञ्जाललाई व्यक्तिगत असन्तुष्टि पोख्ने माध्यम बनाउने प्रवृत्तिले प्रहरी संगठनको अनुशासनमा असर पार्न सक्छ।

यस्तो अवस्थामा बर्दिया प्रहरीले सञ्चालन गरेको अनुशिक्षण कार्यक्रमलाई सकारात्मक पहलका रूपमा लिन सकिन्छ। यस्ता कार्यक्रमले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सही प्रयोगबारे सचेत गराउनुका साथै संगठनको मर्यादा, व्यावसायिक आचरण र व्यक्तिगत जिम्मेवारीबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।

यद्यपि सामाजिक सञ्जालसम्बन्धी अनुशिक्षण केवल औपचारिक कार्यक्रममा सीमित नभई प्रहरी कर्मचारीलाई नियमित रूपमा डिजिटल साक्षरता, साइबर सुरक्षा, सूचनाको गोपनीयता र जिम्मेवार अभिव्यक्तिबारे प्रशिक्षित गर्न आवश्यक छ।

प्रहरी संगठनको गरिमा जोगाउनु नेतृत्व र कर्मचारी दुवैको जिम्मेवारी हो। अनुशासन कायम गर्ने नाममा जायज प्रश्न र रचनात्मक आलोचनालाई निरुत्साहित नगरी, मर्यादित अभिव्यक्ति र संस्थागत जिम्मेवारीबीच सन्तुलन कायम गर्न सके यस्ता कार्यक्रमको वास्तविक उपलब्धि देखिन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय