
काठमाण्डौं । सशस्त्र प्रहरी बल, नेपालले उदयपुरबाट ७ हजार ८२६ किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।
२०८३ मंसिर १५ गते ए.पी.एफ. इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी र नं. ५ गण हेडक्वार्टर उदयपुरबाट खटिएको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो।

उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशोपुल भित्री सडकखण्डमा मालवाहक ट्रक जाँच गर्ने क्रममा त्रिपालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
ट्रकभित्र २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी राखिएको कुल ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।





