
कास्की । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेको उपस्थितिमा महिला ट्राफिक प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
२०८३ कात्तिक १८ गते पोखरामा आयोजित कार्यक्रममा कार्यालय तथा मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। भौतिक तथा भर्चुअल माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा समसामयिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा कार्यसम्पादनका क्रममा देखिने विभिन्न चुनौतीबारे छलफल गरिएको थियो।

अन्तरक्रियाका क्रममा महिला प्रहरी कर्मचारीहरूले कार्य वातावरण, सेवाका क्रममा भोग्नुपरेका समस्या, पिरमर्का तथा गुनासाहरू राखेका थिए। साथै, महिला ट्राफिक प्रहरीको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार आदानप्रदान भएको थियो।
कार्यक्रममा एसपी काफ्लेले महिला प्रहरी कर्मचारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि, अनुशासन, जिम्मेवारीबोध र सेवाग्राहीमैत्री व्यवहारलाई प्राथमिकता दिन निर्देशन दिएका थिए।
उनले कर्मचारीका समस्या तथा गुनासाहरूलाई उचित रूपमा सम्बोधन गर्दै कार्यसम्पादनका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।





