
काठमाडौं । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सागर साह कोशी प्रदेश प्रहरी कार्यालयद्वारा २०८३ साल वैशाख महिनाको “उत्कृष्ट प्रहरी” घोषित भएका छन् । उत्कृष्ट कार्यसम्पादन, उच्च जिम्मेवारीबोध र संगठनप्रतिको समर्पणका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले प्रहरी निरीक्षक साहलाई उत्कृष्ट प्रहरीको प्रमाणपत्र प्रदान गरेका हुन् । प्रदान गरिएको प्रमाणपत्रमा प्रहरी निरीक्षक साहले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन तथा प्रहरी आचारसंहिताको पूर्ण पालना गर्दै उच्च मनोबल, व्यावसायिक दक्षता र साहसका साथ आफ्नो पदीय जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गरिएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङ, मोरङको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी निरीक्षक साहले विशेषगरी फैसला कार्यान्वयन अभियानलाई प्रभावकारी बनाउँदै फरार प्रतिवादी पक्राउमा उल्लेखनीय सफलता हासिल गरेका थिए । उनले प्रहरी कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गरी विभिन्न मुद्दामा अदालतबाट सजाय तथा फैसला भई फरार रहेका उल्लेख्य संख्याका प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराउने कार्य गरेका थिए ।
त्यस्तै, प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्ने उद्देश्यले उनले ड्रोन क्यामेराको प्रयोगमार्फत अपराध रोकथाम तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाएका छन् । आधुनिक प्रविधिको उपयोग गर्दै निगरानी, सूचना संकलन तथा सुरक्षा व्यवस्थापनमा नयाँ अभ्यास सुरु गरेपछि स्थानीय तहमा प्रहरी कार्यप्रति विश्वाससमेत बढेको बताइन्छ ।
प्रहरी निरीक्षक साहले कार्यालयभित्र विभिन्न नवप्रवर्द्धनात्मक कार्यहरू समेत अघि बढाएका छन् । नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरी जनचेतनामूलक सन्देश प्रवाह गर्ने व्यवस्था मिलाइएको छ भने सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउन सञ्चार शाखा स्थापना गरिएको छ । साथै हिरासत कक्षमा पुस्तकालय स्थापना गरी हिरासतमा रहेका व्यक्तिहरूलाई सकारात्मक तथा सिर्जनात्मक वातावरण उपलब्ध गराउने प्रयाससमेत गरिएको छ ।
उनकै नेतृत्व र कार्यशैलीका कारण गत चैत महिनामा इलाका प्रहरी कार्यालय लेटाङ जिल्ला स्तरमै उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयका रूपमा सम्मानित भएको थियो । उक्त अवसरमा कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको प्रमाणपत्र समेत प्राप्त गरेको थियो ।
प्रहरी निरीक्षक साहको नेतृत्वमा लेटाङ क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रभावकारी भूमिका निर्वाह भएको स्थानीयवासी बताउँछन् । समुदायसँग समन्वय, प्रहरी–जनता सम्बन्ध सुदृढीकरण तथा कानुन कार्यान्वयनमा देखाएको सक्रियताका कारण उनी प्रहरी संगठनभित्र मेहनती, सिर्जनशील र परिणाममुखी अधिकृतका रूपमा चिनिन थालेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्दै आएको छ । यस प्रकारको सम्मानले प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, जिम्मेवारीबोध तथा सेवाप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास गरिएको छ ।




