काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्नेहरूमाथि कारबाही तीव्र बनाएको छ। प्रहरीले दुई दिनमा विभिन्न स्थानबाट ६ सय ७६ थान एलपी ग्यास सिलिन्डर बरामद गर्नुका साथै कालोबजारीको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको नरेफाँटबाट १८३ थान र सामाखुसीबाट १८९ थान गरी ३ सय ७२ सिलिन्डर बरामद गरिएको हो।

नरेफाँटस्थित रामेछाप ब्रान्ड ग्यास डिलरका सञ्चालक नारायण श्रेष्ठलाई प्रहरीले कालोबजारीको आरोपमा पक्राउ गरेको छ। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा डिलरले ग्यास स्टकमा राखेर बजारमा अभाव सिर्जना गर्ने र पछि साँखु तथा चक्रपथ क्षेत्रमा महँगो मूल्यमा बिक्री गर्ने गरेको खुलेको जनाएको छ।

त्यस्तै, बसुन्धरास्थित हाम्रो सगरमाथा सहकारी संस्थामार्फत ग्यास कारोबार गर्दै आएका प्रदीप घिमिरे पनि पक्राउ परेका छन्। घिमिरेले प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा ग्यास बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ। हाल एक सिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ रहेको छ।

यसअघि बिहीबार प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ थान र इटाछेबाट २८ थान ग्यास सिलिन्डर बरामद गरेको थियो।

सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरमा सर्लाही जनरल स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय उमेश साह र इटाछेमा सगर ग्यास बिक्री गर्दै आएका ४१ वर्षीय राजेश कर्माचार्यलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार साहले उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँमा ग्यास बिक्री गर्ने गरेको पाइएको छ। भक्तपुरबाट पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ।

दुई दिनमै काठमाडौं र भक्तपुरबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद भएपछि बजारमा देखिएको अभाव स्वाभाविक हो वा कृत्रिम रूपमा सिर्जना गरिएको हो भन्ने प्रश्नसमेत उठेको छ।

प्रहरीले बरामद भएका सिलिन्डर कहाँबाट ल्याइएको थियो, कति समयदेखि स्टक गरेर राखिएको थियो तथा यसमा अन्य व्यक्ति वा व्यवसायीको समेत संलग्नता थियो कि थिएन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय