
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा नेपाली रुपैयाँतर्फ रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ जम्मा रहेको छ ।

त्यसैगरी, कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दातलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा कुल उपलब्ध रकम रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको हो ।
विवरणअनुसार भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ रु १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थपिएको छ ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कोषबाट रु १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत निकासा गरिएको थियो ।




