
काठमाडौँ — लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) भूपेन्द्रबहादुर खत्रीको विशेष सक्रियता र निर्देशनमा खटिएको प्रहरी टोलीले रुपन्देहीको सिद्धार्थनगर स्थित एक क्यासिनोबाट अवैध रूपमा जुवा खेलिरहेका ६ जनालाई नियन्त्रणमा लिएको छ।
सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिंगा क्यासिनोमा नेपाली नागरिकहरू प्रवेश गरी जुवा खेलिरहेको गुप्त सूचना प्राप्त भएपछि डिआईजी खत्रीको सक्रियतामा प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले आज साँझ क्यासिनोमा अचानक जाँच (रेड) गर्दा पाँच नेपाली नागरिक र क्यासिनोका पिट म्यानेजरलाई जुवा खेलिरहेको अवस्थामै नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने नेपाली नागरिकहरूमा म्याग्दीका नारायण घर्ती, कास्कीका रोशन केसी र सुदीप आचार्य, तथा रुपन्देहीका रामु श्रेष्ठ र चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। उनीहरूसँगै क्यासिनोका पिट म्यानेजर भारत हरियाणा निवासी पारस भाटियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
डिआईजी भूपेन्द्रबहादुर खत्रीले गैरकानुनी गतिविधिको सूचना पाउनासाथ प्रहरी टोली परिचालन गरी कारबाही अघि बढाइएको जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका सबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ।
प्रदेशभर प्रचलित कानुनविपरीत हुने जुवातास तथा अन्य गैरकानुनी गतिविधिमाथि कडा निगरानी राख्दै कारबाही प्रक्रियालाई निरन्तरता दिने डिआईजी खत्रीले प्रतिबद्धता व्यक्त गरेका छन्।




