
सुर्खेत । प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६ स्थित वनडाल सामुदायिक वनको ओडारबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएको ६ सदस्यीय प्रहरी टोलीले बिहीबार अपराह्न ओडारमा खोजी गर्दा ती बन्दुक फेला पारेको हो।
ओडारमा बन्दुक लुकाएर राखिएको सूचनापछि प्रहरीले खोजी अभियान चलाएको थियो। सोही क्रममा ६ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बरामद भएका बन्दुक कसले र के उद्देश्यले लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




