
काभ्रे । बनेपास्थित ‘गौरी ट्रेडर’का सञ्चालक नरेश शाहले सुरक्षा निकायका अधिकारीहरूसँगको मिलोमतोमा व्यापक तस्करी तथा ठगीधन्दा चलाउँदै आएको आरोप लागेको छ। धनुषा, महोत्तरी र सर्लाहीका सीमानाकाबाट गैरकानुनी रूपमा सामान भित्र्याई बनेपा, काभ्रे तथा काठमाडौँ उपत्यकासम्म पुर्याएर उनले ठूलो मात्रामा राजस्व छली गरिरहेको स्रोतको दाबी छ।
मूल घर जनकपुर भई बनेपालाई मुख्य आधार क्षेत्र बनाएका शाहले दैनिक उपभोग्य वस्तुदेखि बहुमूल्य सामाग्रीहरूसम्मको तस्करी गर्ने गरेको पाइएको छ। तस्करीको धन्दा निर्बाध रूपमा सञ्चालन गर्न उनले रुटमा पर्ने सुरक्षा निकायका इन्चार्ज तथा सादा पोसाकका प्रहरी (घुमुवा) लाई आर्थिक प्रलोभनमा पार्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका घुमुवामार्फत उच्च प्रहरी अधिकारीहरूसँग पहुँच बनाएका शाहले माथिल्लो तहका प्रहरीलाई प्रभावमा पार्दै आएका छन्। माथिल्लो तहको संरक्षणका कारण तल्ला दर्जाका प्रहरी कर्मचारीलाई भने उनले हेप्ने र अभद्र व्यवहार गर्ने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। केही समयअघि बर्दिबास क्षेत्रमा तस्करीको सामान ल्याउने क्रममा स्थानीय घुमुवा प्रहरीसँग विवाद हुँदा उनीमाथि हातपात समेत भएको थियो।
शाहमाथि व्यापारको आवरणमा ठगी धन्दा चलाएको अर्को गम्भीर आरोप पनि छ। एलआईसी (LIC) नेपालको एजेन्ट बनेर सयौँ व्यक्तिलाई बीमा गराइदिने बहानामा उनले रकम उठाएर ठगी गर्दै आएको पीडितहरूको भनाइ छ। बनेपाका केही युवाहरूलाई बीमा गराइदिन्छु भन्दै रकम ठगी गरेपछि विवाद बढेको र भौतिक दबाब आएपछि मात्र उनले उक्त रकम फिर्ता गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्।
आफ्नै व्यवहार र अभद्र बोलीका कारण पटक-पटक विवाद र कुटपिटको सिकार हुने गरेका शाहले पछिल्लो समय आफूसँगै केही व्यक्तिहरूलाई सुरक्षा गार्ड (बडीगार्ड) का रूपमा राखेर हिँड्ने गरेका छन्। प्रायः साँझ परेपछि स्थानीय केही पत्रकार तथा प्रहरी अधिकारीहरूसँग होटल तथा रेस्टुरेन्टहरूमा समय बिताउने शाहले मधेश प्रदेशका नाकाबाट बर्दिबास, सिन्धुली हुँदै काभ्रे र काठमाडौँसम्म तस्करीको सामान निर्वाध रूपमा पुर्याउने गरेका छन्।
देशमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनपछि पनि सुरक्षा निकायका फिल्ड लेभलका कर्मचारी र बिचौलिया वा तस्करहरूबीचको अनुचित साँठगाँठ निरन्तर रहनु गम्भीर चिन्ताको विषय बनेको छ। राज्यको ठूलो रकम राजस्व छली भइरहँदा समेत यस्ता गतिविधि नियन्त्रण हुन सकेका छैनन्।
देशमा सुशासन, समृद्धि र विकासको लक्ष्य हासिल गर्न नरेश शाहजस्ता तस्कर तथा ठगीमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग स्थानीयवासीको छ। पीडितहरूका तर्फबाट प्राप्त थप गुनासाहरू आगामी अङ्कहरूमा क्रमैसँग प्रकाशित गरिनेछ।




