
लेखक तथा विश्लेषक राधाकृष्ण देउजाले राष्ट्रिय विपद्को सामना गर्दै अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीको प्रशंसा गर्दै संगठनको मनोबल गिराउने गतिविधि स्वीकार्य नहुने बताएका छन्।
उनले आफ्नो सामाजिक संजाल मार्फत प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित नेपाल प्रहरीका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै विपद्को समयमा प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका हुन्।

देउजाले नेपाल प्रहरीका सिपाहीदेखि आईजीपीसम्मका कर्मचारी राजनीतिक दलका नेता वा सांसदजस्तो बेलगाम हुन नमिल्ने भन्दै प्रहरी संगठन अनुशासन, जवाफदेहिता र सामाजिक सद्भावप्रति संवेदनशील रहनुपर्ने बताए।
“नेपाल प्रहरीको सिपाहीदेखि आईजीपीसम्म कोही पनि राजनीतिक दलका नेता वा सांसदहरूजसरी बेलगाम छैनन् र हुन मिल्दैन,” उनले भनेका छन्, “उनीहरू न भड्किन मिल्छ, न उत्तेजनामा आउन मिल्छ, न त गैरजिम्मेवार भएर केही गर्न मिल्छ।”
प्रहरीमाथि आरोप वा आलोचना हुँदा समेत संगठनले संयमित भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाइ छ। प्रहरीमाथि लागेका आरोपको खण्डन गर्दा समेत अनुशासन, जवाफदेहिता र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्नुपर्ने उनले उल्लेख गरेका छन्।
देउजाले प्रहरीको यही जिम्मेवारीबोध, कर्तव्यपरायणता र अनुशासनलाई कतिपयले कमजोरीका रूपमा बुझ्ने गरेको टिप्पणी गरेका छन्। उनका अनुसार केही व्यक्तिहरूले प्रहरीलाई गाली गर्ने, विभिन्न आरोप लगाउने र त्यसबाट आफ्नो प्रचार वा कुण्ठा शान्त पार्ने प्रयास गरे पनि प्रहरी आफ्नो जिम्मेवारीबाट विचलित हुनु हुँदैन।
“प्रहरी फेरी पनि विचलित नभई आफूलाई आरोप लगाउनेहरूदेखि सबैलाई शान्त र सुरक्षित राख्न डटिरहन्छ,” देउजाले भनेका छन्।
उनले प्रहरी कर्मचारीले आफ्नो इमान्दारिताको परीक्षा निरन्तर दिइरहेको उल्लेख गर्दै प्रहरीका गतिविधिमाथि राज्यका राजकीय तथा संवैधानिक निकायले निगरानी गरिरहेको समेत बताएका छन्।
दोषी ठहर भएको अवस्थामा जोसुकै प्रहरी कर्मचारी पनि कानुनअनुसार कारबाहीको भागीदार हुनुपर्ने तर आरोप लाग्दैमा कसैलाई दोषी करार गरेर मानमर्दन गर्न नहुने उनको धारणा छ।
रामायणमा सीताले आफ्नो पवित्रताको परीक्षा दिन अग्निकुण्डमा प्रवेश गरेको प्रसंग उल्लेख गर्दै देउजाले प्रहरीका सिपाहीदेखि आईजीपीसम्मले पनि दैनिक रूपमा आफ्नो इमान्दारिताको परीक्षा दिइरहेको टिप्पणी गरेका छन्।
“आरोप लाग्यो वा लगाइयो भन्दैमा कोही कसैलाई दोषी ठहर गर्दै मानमर्दन गर्ने कुरा स्वीकार्य छैन र हुनु हुँदैन,” उनले भनेका छन्।
राष्ट्रिय विपद्को सामना गर्ने क्रममा अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीप्रति सम्मान व्यक्त गर्दै देउजाले संगठन प्रमुख आईजीपी कार्कीसहित प्रहरीका सिपाहीसम्मलाई धन्यवाद दिएका छन्।
“एक–दुईको कुरा छोडिदिऊँ, आम नेपाली जनताले नेपाल प्रहरीलाई ‘स्याबास’ भनिरहेका छन् भन्ने सत्य आईजीपीदेखि सिपाहीसम्मलाई धन्यवादसहित अवगत गराउनु हाम्रो कर्तव्य हो,” देउजाले उल्लेख गरेका छन्।




