काठमाडौं । ट्याटु हाउसको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा लागूऔषध नियन्त्रण ब्यूरोले चार जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार ललितपुर महानगरपालिका–१५, हात्तीवनमा सञ्चालनमा रहेको नाम नखुलेको ट्याटु हाउसबाट तीन जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट नियन्त्रित मनोद्दीपक पदार्थ ट्रामाडोल २ हजार ७० क्याप्सुल र ३.८०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ २५ गते ट्याटु हाउसमा छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले पक्राउ परेकाहरूसँगको अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा थप एक जनालाई काठमाडौं महानगरपालिका–२६, मित्रनगरबाट ८ हजार ३४० क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–५ का २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुरगढी गाउँपालिका–२, मकवानपुरका ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ का ३१ वर्षीय राजु तामाङ रहेका छन्।

के–के बरामद भयो?

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार उनीहरूबाट कुल १० हजार ४१० क्याप्सुल ट्रामाडोल र ३.८०० ग्राम खैरो हेरोइन बरामद भएको छ।

त्यसैगरी, प्रहरीले लागूऔषध तौल गर्न प्रयोग भएको एक थान डिजिटल तराजु र चार थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

ब्यूरोका अनुसार पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार बरामद खैरो हेरोइन ३.८०० ग्रामको कसुरमा ५ देखि १० वर्षसम्म कैद तथा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना र ट्रामाडोल १० हजार ४१० क्याप्सुलको कसुरमा २ देखि १० वर्षसम्म कैद तथा १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय