
काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको सहयोगका लागि ५१ लाख ५१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।
हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पुडासैनीले काठमाडौंमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रममा उनका बुबा गोपीप्रसाद पुडासैनी पनि उपस्थित थिए।

सहयोग हस्तान्तरणपछि पुडासैनीले विपद्को समयमा आफ्नो तर्फबाट सहयोग गर्न पाएको बताए।
‘देश रोइरहेको बेला म त्यहाँ चुप लागेर बस्न सकिनँ। आफ्नो तर्फबाट सहयोग गर्न पाउनु मातृभूमिप्रतिको ऋण तिर्ने एउटा सानो प्रयास हो,’ उनले भने।
पुडासैनीका अनुसार उनले यसअघि पनि व्यक्तिगत रूपमा विभिन्न सामाजिक कार्य तथा समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएका छन्। तीमध्ये केही सहयोग सार्वजनिक नगरिएको उनले बताए।
परिवारसँग मिलेर सामाजिक सहयोगलाई निरन्तरता दिने उद्देश्यले निजी पारिवारिक फाउन्डेसन स्थापना गर्ने तयारीसमेत गरिएको उनले जानकारी दिए। पुडासैनी परिवार र हाइड्रोजेट ग्रुपको संयुक्त पहलमा फाउन्डेसन स्थापना गरिएको र त्यसमार्फत सामाजिक क्षेत्रमा सहयोग गर्ने योजना रहेको जनाइएको छ।
प्राविधिक कामबाट व्यवसायसम्म
पुडासैनीले यूएईमा व्यवसाय सुरु गर्नुअघि प्राविधिक क्षेत्रमा काम गरेको बताएका छन्। उनका अनुसार सुरुवाती चरणमा प्यानल बोर्ड, एमसीबी, ब्रेकर तथा स्विच सफा गर्ने र मर्मत गर्ने काम गरेका थिए।
कामकै क्रममा प्राविधिक ज्ञान र अनुभव हासिल गर्दै गएको तथा पानीका पाइपलाइन, ट्यांकी, टनेल र कल्भर्टलगायत संरचनामा काम गरेको उनले बताए।
उनका अनुसार यही अनुभवका आधारमा सन् २०१५ मा दुबईमा हाइड्रोजेट स्थापना गरिएको हो। सुरुवाती समयमा कम्पनीले अमेरिका, बेलायत, जर्मनी, पोल्यान्ड, नेदरल्यान्ड्स र टर्कीबाट उपकरण आयात गरेर सेवा दिने गरेको थियो।
पछि स्थानीय आवश्यकताअनुसार उपकरण विकास तथा उत्पादनतर्फ कम्पनी अघि बढेको पुडासैनीले बताए।
पाइपलाइनसम्बन्धी उपकरण उत्पादन
कम्पनीका अनुसार हाइड्रोजेटले गेट भल्भ, प्रेसर रिड्युसिङ भल्भ, एयर रिलिज भल्भ, बटरफ्लाई भल्भ, क्विक लक तथा विभिन्न आकारका पाइपका लागि रिपेयर क्ल्याम्पलगायत उपकरण उत्पादन गर्दै आएको छ।
कम्पनीले केही उत्पादनमा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ।
पुडासैनीका अनुसार फिल्डमा देखिएका प्राविधिक समस्यालाई आधार बनाएर उपकरण तथा समाधान विकास गर्ने गरिएको छ।
ट्रेन्चलेस प्रविधिमा सेवा
हाइड्रोजेटले भूमिगत पाइपलाइन मर्मतका लागि ट्रेन्चलेस प्रविधिसम्बन्धी सेवा पनि दिँदै आएको जनाएको छ।
कम्पनीका अनुसार सीआईपीपी रिलाइनिङ, पोइन्ट प्याच मर्मत, रोबोटिक सीसीटीभी निरीक्षण, रासायनिक इन्जेक्सन तथा जीआरपी लाइनमेन्टजस्ता प्रविधि प्रयोग हुँदै आएका छन्।
यी प्रविधिको प्रयोग खानेपानी, फोहोर पानी, सिँचाइ तथा अन्य भूमिगत पाइपलाइनको मर्मतमा हुने कम्पनीको दाबी छ।
कम्पनीले यूएईमा मोबाइल सिवेज ट्रीटमेन्ट प्लान्टसमेत प्रयोगमा ल्याएको जनाएको छ।
जोखिमपूर्ण काममा रोबोट प्रयोग गर्ने योजना
पुडासैनीले गहिरा च्याम्बर, बन्द स्थान तथा पानीमुनि गर्नुपर्ने जोखिमपूर्ण काममा रोबोटिक प्रविधिको प्रयोग विस्तार गर्ने योजना रहेको बताएका छन्।
उनका अनुसार यस्तो प्रविधिको उद्देश्य जोखिमपूर्ण काममा मानिसको प्रत्यक्ष संलग्नता घटाउनु हो।
नेपालमा पनि सेवा विस्तार गर्ने तयारी
हाइड्रोजेटले यूएईसँगै ओमानमा सेवा विस्तार गरेको तथा कतारमा विस्तारको प्रक्रिया अघि बढिरहेको जनाएको छ। साउदी अरब, बहराइन र कुवेतलाई पनि सम्भावित बजारका रूपमा हेरिएको कम्पनीको भनाइ छ।
नेपालमा पनि भूमिगत पाइपलाइन, ढल व्यवस्थापन तथा मर्मतसम्बन्धी प्रविधि भित्र्याउने योजना रहेको पुडासैनीले बताएका छन्।
उनका अनुसार नेपालमा सहरीकरण बढेसँगै भूमिगत संरचनाको मर्मत तथा व्यवस्थापनका लागि नयाँ प्रविधिको आवश्यकता बढ्दै गएको छ।
कम्पनीले नयाँ उपकरण तथा प्रविधि विकास, रोबोटिक प्रणालीको प्रयोग र अन्तर्राष्ट्रिय बजार विस्तारलाई आगामी योजनाका रूपमा अघि सारेको जनाएको छ।
हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपको मुख्यालय दुबईमा रहेको तथा यूएई, ओमान र कतारमा कम्पनीको व्यवसाय सञ्चालनमा रहेको जनाइएको छ।




