काठमाण्डौं । सीमाबाट हुने अवैध सामान ओसारपसारमा प्रहरीकै संरक्षण रहेको दाबी सार्वजनिक भएपछि धनुषाको इलाका प्रहरी कार्यालय खजुरीका इन्चार्ज प्रहरी निरीक्षक दिनेशबहादुर कुँवर छानबिनको घेरामा परेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा एक तस्करले खजुरी नाकाबाट मोटरसाइकलमार्फत सामान भित्र्याएबापत इन्स्पेक्टर कुँवरलाई मासिक ८ हजार रुपैयाँ बुझाउने गरेको दाबी गरेका छन्। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको हो।

घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।

डीएसपी खनालका अनुसार भिडियोमा गरिएको दाबी, त्यसको पृष्ठभूमि र आरोपसँग सम्बन्धित अन्य पक्षबारे समितिले अनुसन्धान गरिरहेको छ।

‘सीमाबाट अवैध सामान भित्र्याउन लाइन दिएको र त्यसबापत मासिक ८ हजार रुपैयाँ लिने गरेको दाबी भिडियोमा गरिएको छ। उक्त दाबीको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको छ,’ उनले भने।

स्थानीयस्तरमा भने इन्स्पेक्टर कुँवरले अन्य व्यापारी तथा तस्करसँग समेत नियमित रकम असुल्ने गरेको आरोपसमेत सुनिँदै आएको छ। तर, यी आरोप पुष्टि भइसकेका छैनन्।

छानबिनले भिडियोमा गरिएको दाबी वास्तविक हो वा आरोपमा मात्रै सीमित छ भन्ने टुंगो लगाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय