
काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै क्यानडा पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
सोही क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।




