काठमाडौं । १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखिया रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा प्राप्त गोप्य सूचनाका आधारमा मलेसियालगायत विभिन्न मुलुकबाट भइरहेको अवैध हुण्डी कारोबारबारे अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा मुखियाले विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

उक्त कसुरमा धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मंगलबार मुखियालाई शहीदनगर नगरपालिका–४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका मुखियामाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय