
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५.५ किलो हेरोइन बरामद गरेको घटनालाई लिएर अमेरिकी दूतावासले नेपाल प्रहरीको प्रशंसा गरेको छ।
अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले गरेको उक्त सफल कारबाहीको प्रशंसा गर्दै समाचार सार्वजनिक गरेको हो।

गत नोभेम्बर १४ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनसीबीका अधिकारीहरूले ५.५ किलो हेरोइन बरामद गरेका थिए। यात्रुको गतिविधि तथा व्यवहारका आधारमा शंकास्पद व्यक्तिको पहिचान गर्न अमेरिकी सहयोगमा प्रदान गरिएको यात्रु प्रोफाइलिङसम्बन्धी तालिमले महत्वपूर्ण भूमिका खेलेको दूतावासले जनाएको छ।
दूतावासका अनुसार पक्राउ परेका शंकास्पद व्यक्तिले घरपालुवा जनावरका लागि प्रयोग हुने खानेकुराको प्याकेजिङभित्र लुकाएर हेरोइन ल्याएका थिए। बरामद पदार्थ लागूऔषध नै भएको पुष्टि गर्न अमेरिकी सहयोगमा उपलब्ध गराइएको फिल्ड टेस्ट किटसमेत प्रयोग गरिएको थियो।
अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्युरो अफ इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स (आईएनएल) तथा संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) सँगको साझेदारीमार्फत अमेरिकाले नेपाललाई लागूऔषध नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सहयोग गर्दै आएको दूतावासले उल्लेख गरेको छ।
अमेरिकाले नेपालमा अन्तरदेशीय लागूऔषध तस्करी नियन्त्रण गर्न र समुदायलाई सुरक्षित राख्ने नेपाल प्रहरीको प्रयासमा सहयोग गर्न पाएकोमा गर्व लागेको जनाएको छ।
अमेरिकी सहयोगमा प्राप्त तालिम, प्रविधि र उपकरणको प्रयोगबाट नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रकृतिका लागूऔषध तस्करी नियन्त्रणमा हासिल गरेको उपलब्धिलाई अमेरिकी दूतावासले सार्वजनिक रूपमा प्रशंसा गरेको हो।

Screenshot





