सुरक्षा सरोकार । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन ठगीका घटना पनि चुनौतीका रूपमा देखिन थालेका छन्। सामाजिक सञ्जाल, बैंकिङ एप, डिजिटल वालेट तथा विभिन्न अनलाइन माध्यमको दुरुपयोग गर्दै सर्वसाधारणको रकम ठगी गर्ने गिरोह सक्रिय भइरहेका बेला नेपाल प्रहरीले सञ्चालनमा ल्याएको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ पीडितका लागि प्रभावकारी माध्यम बन्दै गएको छ।

विशेषगरी साइबर ठगीमा परेका व्यक्तिले तत्काल सम्पर्क गर्न सक्ने १२४७ नम्बरको हटलाइन सेवा प्रभावकारी देखिन थालेपछि यसप्रति सर्वसाधारणको विश्वाससमेत बढ्दै गएको छ।

यसको उदाहरण नेपालगन्जका सेवाग्राही विष्णु शाही बनेका छन्। ईसेवामार्फत ५० हजार रुपैयाँ ठगीमा परेका शाहीले ठगी भएको थाहा पाएको पाँच मिनेटभित्रै नेपाल प्रहरीको १२४७ नम्बरमा सम्पर्क गरेका थिए। उनले तत्काल प्रहरीलाई जानकारी गराएपछि ठगीमा परेको रकम रोक्का गर्न सम्भव भएको छ। अहिले उक्त रकम फिर्ता आउने प्रक्रियामा रहेको भन्दै शाहीले खुसी व्यक्त गरेका छन्।

समयमै प्रहरीलाई जानकारी गराउँदा आफ्नो मेहनतको कमाइ जोगिने अवस्था बनेपछि शाहीले नेपाल प्रहरीले सुरु गरेको यो सेवाको खुलेर प्रशंसा गरेका छन्। उनका अनुसार ठगीमा परेको रकम फिर्ता हुने प्रक्रियामा पुग्नु नै पीडितका लागि ठूलो राहत हो।

शाहीको अनुभवले साइबर ठगीका घटनामा समयको महत्व कति हुन्छ भन्ने स्पष्ट देखाएको छ। ठगीमा संलग्न व्यक्तिहरूले डिजिटल माध्यमबाट रकम विभिन्न बैंक खाता तथा वालेटमा तत्काल स्थानान्तरण गर्ने भएकाले पीडितले ढिला नगरी प्रहरीलाई जानकारी गराउनु आवश्यक हुन्छ।

यसअघि साइबर ठगीका घटनामा प्रहरी र बैंकबीच समन्वय गर्न समय लाग्ने, आवश्यक विवरण प्राप्त गर्न प्रक्रियागत झन्झट हुने तथा रकम विभिन्न खातामा स्थानान्तरण भइसक्ने समस्या थियो। यही चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष समन्वय गर्ने गरी एकीकृत प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको हो।

गृह मन्त्रालयको पहलमा गत कार्तिक २० गतेदेखि काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको नवनिर्मित भवनबाट यो केन्द्र सञ्चालनमा आएको हो। केन्द्रमा साइबर ब्युरोका प्रहरी अधिकारीसँगै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू एउटै स्थानमा बसेर काम गरिरहेका छन्।

केन्द्र सञ्चालनमा आएको प्रारम्भिक १२ दिनमै ५०० भन्दा बढी साइबर ठगीसम्बन्धी उजुरी प्राप्त भएको साइबर ब्युरोका अधिकारीहरूले बताएका छन्। यसअघि यस्ता घटनामा अनुसन्धानमार्फत करिब १० प्रतिशत पीडितको मात्रै रकम फिर्ता गराउन सकिने अवस्था रहेकामा नयाँ व्यवस्थापछि ठगी भएको रकममध्ये ५० प्रतिशतभन्दा बढी बैंकिङ प्रणालीमै रोक्का गर्न सफलता मिलेको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताएका छन्।

उनका अनुसार रोक्का भएको रकम आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि सम्बन्धित पीडितलाई फिर्ता गरिन्छ।

केन्द्रमा दैनिक करिब ९ सय फोन आउने गरेको र सञ्चालनको प्रारम्भिक १२ दिनमै ९ हजारभन्दा बढी सोधपुछका कल प्राप्त भएको अधिकारीहरूको भनाइ छ। तीमध्ये रकम ठगी भएको भन्दै आएका ५०० भन्दा बढी उजुरी अभिलेखमा राखेर आवश्यक कारबाही अघि बढाइएको थियो।

केन्द्रले देशका जुनसुकै स्थानबाट प्राप्त हुने साइबर ठगीसम्बन्धी सूचनामा तत्काल प्रतिक्रिया दिने तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने व्यवस्था पनि अघि बढाएको छ। यसका लागि नेपाल टेलिकम र एनसेलमा समेत सम्पर्क तथा समन्वयका लागि स्रोत व्यक्ति तोकिएको छ।

नेपालगन्जका विष्णु शाहीको घटनाले १२४७ नम्बरको हटलाइन सेवा साइबर ठगीमा परेका सर्वसाधारणका लागि कति महत्वपूर्ण हुन सक्छ भन्ने देखाएको छ। ५० हजार रुपैयाँ ठगीमा परेपछि पाँच मिनेटभित्रै प्रहरीलाई खबर गरेका उनले अहिले रकम फिर्ता हुने प्रक्रियामा रहेको बताएका छन्। समयमै सूचना दिन सके ठगीमा परेको रकम रोक्का गर्न सकिने उनको अनुभवले अन्य सर्वसाधारणलाई पनि सचेत गराएको छ।

यद्यपि, रकम रोक्का हुनु र पीडितले रकम फिर्ता पाउनु फरक प्रक्रिया हुन्। रोक्का भएको रकम कानुनी प्रक्रिया पूरा गरेर मात्रै फिर्ता हुने भएकाले पीडितले प्रहरी तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नुपर्ने हुन्छ।

साइबर ठगीमा पर्नुभयो भने के गर्ने?

बैंक खाता, मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट अनधिकृत रूपमा रकम काटिएको वा ठगी भएको थाहा पाउनासाथ ढिला नगरी नेपाल प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको हटलाइन नम्बर १२४७ मा सम्पर्क गर्नुपर्छ।

समयमै सूचना दिन सके ठगीमा परेको रकम बैंकिङ प्रणालीमै रोक्का हुने सम्भावना रहन्छ। त्यसैले साइबर ठगीमा परेपछि डराएर वा अन्योलमा परेर बस्नुभन्दा तत्काल प्रहरीलाई जानकारी गराउनु आवश्यक छ।

१२४७ — साइबर ठगीविरुद्ध तत्काल प्रहरीको सहयोग लिन सकिने सम्पर्क नम्बर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय