
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकको रकम हिनामिना तथा ठगी र विदेशी मुद्रा अपचलनमा सघाएको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पोखरेललाई पक्राउ गरेको हो। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत रहँदाको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।
यस प्रकरणमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय पनि पक्राउ परेका छन्। त्यस्तै, तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, श्रम व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख एवं सहसचिव उमेश ढुंगाना र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत एवं उपसचिव निर्मला गुरुङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
ढुंगाना यसअघि नै भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेको बताइएको छ।
मलेसिया जाने नेपाली श्रमिकबाट रकम असुली, ठगी तथा विदेशी मुद्रा अपचलनमा विभिन्न तहका पदाधिकारी र कर्मचारीको संलग्नता रहेको आशंकामा सीआईबीले अनुसन्धान अघि बढाएको हो।
यसअघि नै उक्त प्रकरणमा व्यवसायी कैलाश खड्कालगायतका व्यक्तिहरू पक्राउ परिसकेका छन्।
प्रकरणमा संलग्नता र आर्थिक अनियमितताबारे सीआईबीले थप अनुसन्धान गरिरहेको छ।





