
काठमाडौं । नेपाल प्रहरीको संगठनात्मक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने क्रममा प्रहरीका वरिष्ठ अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक डा. मनोज केसीले तीन जना प्रहरी उपरीक्षक (एसपी) र आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गर्ने निर्णय गरेका छन्।
प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ। यसअघि उक्त शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ।

त्यसैगरी, एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत विशेष ब्युरोमा सरुवा गरिएको छ।
डीएसपीतर्फ केन्द्रीय लेखामा विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दानबहादुर थापालाई जिम्मेवारी दिइएको छ।
कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ भने प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गणमा सरुवा गरिएको छ। केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई भने सुरक्षा सेवा व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा खटाइएको छ।
प्रहरी प्रधान कार्यालयले गरेको यस निर्णयसँगै संगठनका विभिन्न प्रशासनिक, आर्थिक, अनुसन्धान तथा सुरक्षा निकायमा कार्यरत अधिकारीहरूको जिम्मेवारीमा परिवर्तन आएको छ।





